प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आईजीपी कार्कीले आधुनिक र व्यवस्थित पूर्वाधारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन मद्दत पुग्ने उल्लेख गर्दै ट्राफिक व्यवस्थापनलाई अझ चुस्त र प्रविधिमैत्री बनाउन निर्देशन दिए । उनले बढ्दो सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।
पुनःनिर्मित भवनमा सेवाग्राहीका लागि सहज सेवा कक्ष, प्रतीक्षालय, प्रविधि–आधारित निगरानी प्रणाली लगायतका सुविधा समावेश गरिएको जनाइएको छ। यसले नयाँ बसपार्क क्षेत्रको ट्राफिक व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।