काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले अङ्गिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)सामु लोकप्रियतावाद, अराजकतावाद र अवशरवादको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा यसका संस्थापकहरूको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
‘जबजका समृद्ध विचारसामु अल्गोरिदमले नेपाली राजनीतिमा सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद, र अवशरवादको चुनौती केही समयका पाहुनाजस्तै हुन्’, पोखरेलले लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौँ ।’
महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठलगायतका नेताहरूको योगदानलाई स्मरण गरेका छन् ।
आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पार्टी ७७औँ स्थापना दिवसमा उपत्यकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन् र काठमाडौंबाहिर सम्बन्धित कमिटीले आयोजना गरेका कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।