काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भू–भागमा सहित कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार हाल कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू–भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम सफा रहने छ ।
कोशी प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।