काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भू–भागलगायत बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने, तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।