काठमाडौँ । नेकपा एमाले राजधानी प्रदेश कमिटीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको मुख्य कारण 'मिथ्या सूचना' (फेक न्युज) र नियोजित 'षडयन्त्र' भएको निष्कर्ष निकालेको छ । प्रदेश कमिटीले तयार पारेको निर्वाचन समीक्षा प्रतिवेदन शनिबार पार्टी महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिएको हो ।
राजधानी प्रदेशका अध्यक्ष नारायण सिलवालले प्रदेशका पदाधिकारीहरूको उपस्थितिमा महासचिव पोखरेललाई प्रतिवेदन बुझाउँदै आगामी दिनमा पार्टीले लिनुपर्ने रणनीतिक कदमबारे सुझाव दिए । प्रतिवेदनमा निर्वाचनको परिवेश, विकसित राजनीतिक घटनाक्रम र सांगठनिक सुधारका पक्षहरूलाई मसिनो गरी केलाइएको छ ।
हारको कारण : षडयन्त्र र अराजकताको भय
प्रतिवेदनले भदौ २३ र २४ गतेको घटनालाई निर्वाचन परिणामसँग जोडेर विश्लेषण गरेको छ । भदौ २४ को विध्वंस पछाडि लुकेको षडयन्त्रलाई जनतामाझ चिर्न नसक्नु र उक्त घटनाको निष्पक्ष छानबिन नहुनुले पार्टीलाई क्षति पुगेको एमालेको ठम्याइ छ । 'सामाजिक सञ्जालमा व्याप्त मिथ्या समाचार र सूचनाको प्रभाव, भदौ २४ को विध्वंसबाट फैलिएको अराजकताको भय तथा राजनीतिमा व्याप्त अवसरवाद र प्रियतावादले फागुन २१ को निर्वाचनलाई प्रभावित पार्यो,' प्रतिवेदनमा भनिएको छ ।
सुझाव : पार्टीभित्र 'शुद्धीकरण' र पुनर्गठन
एमाले राजधानी प्रदेशले अबको बाटो 'शुद्धीकरण' भएको उल्लेख गरेको छ । नवयुवाहरूको परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न पार्टीले ढिला नगरी स्थापित विधि र प्रक्रियाबाट व्यापक छलफल, विश्लेषण र आवश्यकता अनुसार पुनर्गठनको अभियान चलाउनुपर्ने सुझाव दिएको छ । युवा पुस्तामा पार्टीलाई स्थापित गर्न वैचारिक र एजेन्डाकेन्द्रित अभियान सञ्चालन गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
७ जिल्लाको जगमा प्रतिवेदन
पार्टी केन्द्रको निर्देशनअनुसार मातहतका ७ वटा जिल्ला तहमा गरिएका समीक्षा भेला र बैठकबाट प्राप्त सुझावहरूलाई समेटेर यो प्रतिवेदन तयार पारिएको हो । गत चैत २९ गते सम्पन्न प्रदेश कमिटीको दोस्रो बैठकले जिल्लाका रिपोर्टहरूलाई एकीकृत गर्दै अन्तिम रूप दिएको थियो ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख शशीजंग थापाका अनुसार प्रदेशले वस्तुगत तथ्यका आधारमा हारको समीक्षा गरेको र यसले आगामी दिनमा पार्टीको साख जोगाउन मार्गनिर्देश गर्ने विश्वास लिइएको छ ।
