काठमाडौँ । कुमार गजुरेलको डेब्यु निर्देशन रहेको फिल्म ‘सारथी’ को शुभमुहूर्त गरिएको छ। सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो।
वैशाख ९ गतेबाट गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा फिल्मको छायांकन गरिने निर्देशक गजुरेलले बताए । यो सिनेमाबाट बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन्। करिब तीन दशक लामो नेपाली सिनेमामा खर्चिएको सम्पादनको अनुभव सहित दर्शकलाई एक उत्कृष्ट कथा पस्किने हेतुले निर्माणमा होमिएको निर्माताले बताए।
किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा बन्न लागेको फिल्मबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ। जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ।
अभिनेत्री सिंह सिनेमाको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन्। उत्तम भने वैशाख १५ गते नेपाल आएर सिधै छायांकनमा जोडिनेछन्।
शुभमुहूर्त कार्यक्रममा वरिष्ठ सिनेमाकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए । अतिथिका रूपमा नेपाल छन्त्याल संघका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्तयाल पनि सहभागीता रह्यो ।
यस फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ।
सौर्यल थापा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।