काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा रहेका सरकारी सवारी साधनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
कार्यालयले बिहीबार पत्राचार गर्दै सवारी साधनहरूको अद्यावधिक विवरण संकलन गर्न लागिएको जनाएको हो। मन्त्रालय र अन्तर्गतका विभाग र कार्यालयमा प्रयोगमा रहेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको विवरण यथाशीघ्र पठाउन भनिएको छ ।
सवारी साधनको व्यवस्थापन तथा अभिलेखीकरणलाई व्यवस्थित बनाउन विवरण संकलन गर्न लागिएको हो । सवारी साधनको विवरणमा सवारी साधनको नाम, नम्बर, प्रयोगकर्ता, प्रयोगको अवस्था लगायतका विवरण समेट्नुपर्ने उल्लेख गरिएको छ ।