—श्यामकृष्ण लम्साल
दुनियाँमा
यस्तो सृष्टि सम्भव नै हुँदैन
जहाँ सृष्टि कुशल होस्
तर मृत्यु नजिक नहोस् ।
सृष्टिका विधायकहरु सोच्छन्–
उनीहरु त मृत्युबिना नै जन्मिएका हुन्छन्
तर हरेक सृष्टि
मृत्युसँग नै जोडिएको हुन्छ,
जन्मबाट मृत्यु
मृत्युबाट जन्म
यही चक्रमा
सृष्टि सायद घुमिरहेको हुनुपर्छ,
मानवीय समवेदना र संस्कृतिलाई
जीवन्त तुल्याउन
सृष्टिको नियम चलेको हुनुपर्छ,
तर विडम्बना
जन्म र मृत्युको चक्रमा घुम्नै पर्नेहरु
सृष्टि मात्रै देख्छन्,
मृत्यु देख्दैनन्
अजम्बरी नै हुने भए
अझ कसो गर्थेहोलान् ?
-श्यामकृष्ण लम्साल, दिङ्ला, भोजपुर