काठमाडौँ । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई ५ करोड आर्थिक सहयोग प्रदान गरेको छ । बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो । कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु, हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबारदेखि किओचसँग पनि सहकार्य शुभारम्भ भएकोमा हर्षित पनि छौँ र यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ, यसका साथै बाल अस्पतालमार्फत बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वाससमेत छ ।’
त्यस्तै सहयोग रकम बुझ्दै किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाले भने, ‘यस अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गर्दछु, यस सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठुलो सहयोग पुग्ने विश्वास लिएको छु ।’
सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजनाअन्तर्गत अहिले कोसी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौँमा अस्पताल सञ्चालन भएको छ । देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो ।