काठमाडौँ । सिन्धुपाल्चोकका व्यवसायी वेदबहादुर श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। महासंघका हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट उनले बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
आगामी चैत २३ र २४ गते हुने बागमती प्रदेशको नवौँ अधिवेशनका लागि चैत १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा प्रदेश अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।
श्रेष्ठले बागमती प्रदेशभित्रका जिल्ला/नगर, वस्तुगत तथा एसोसिएसनतर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग र मतको अपेक्षा गरेका छन्। प्रदेशको आफ्नै कार्यालय भवन निर्माण गर्ने विषयलाई उनले प्रमुख एजेन्डा बनाएका छन्। यसका साथै उद्योगी व्यवसायीको हितका लागि विशेष योजनाहरू पनि सार्वजनिक गर्ने उनले बताएका छन्।
उनको उद्योग वाणिज्य महासंघमा संगठनात्मक यात्रा २०५८ सालमा साधारण सदस्यबाट सुरु भएको हो। २०६१ सालदेखि निरन्तर सक्रिय रहँदै उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य, त्यसपछि कोषाध्यक्ष र उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी बागमती भूगोलको प्रतिनिधित्व गर्दै महासंघको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्।
साथै, उनले ट्रक कन्टेनर व्यवसायी संघको कोषाध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उनले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन हुने गरेको छ। कोरोना महामारीको समयमा उद्योगी व्यवसायीको पीडामा उनले गरेको सहयोग र समन्वयको निक्कै प्रशंसा भएको थियो।
व्यावसायिक क्षेत्रसँगै विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय श्रेष्ठ खेलकुद क्षेत्रमा पनि उत्तिकै संलग्न छन्। भलिबल खेलाडीका रूपमा पहिचान बनाएका उनले जिल्लामा फुटबल खेलको विकासमा समेत योगदान पुर्याएका छन्।