काठमाडाैँ । दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाजद्वारा सुदूरपश्चिमको मौलिक चाड 'विसु' तथा नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम आयोजना गरिने भएको छ । सन् २००५ मा स्थापना भएको यस समाजले कोरियामा रहेका नेपाली समुदायबीच विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । आपत्–विपत्मा सहयोग तथा चाडपर्वहरूमा मनोरञ्जनात्मक कार्यक्रममार्फत समाजले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
यसपटकको कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्टका साथै कमल बिरही थापा, किस्मत साउद र नरेश रावल जस्ता प्रतिभावान कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रम आगामी ११ अप्रिल २०२६ (शनिबार) बेलुकी ६ बजे, दोङ्देमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हल (निकास नं. २ नजिक) मा आयोजना हुनेछ ।
सुदूरपश्चिम समाज, दक्षिण कोरियाका महासचिव सुरेन गिरीले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिनुका साथै कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गरेका छन् ।