काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिच भागमा रहेको खुला मञ्च प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन प्रमुखसमक्ष शिफारिस गर्ने निर्णय भएको छ । आज राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
विगतमा बिभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार वडा नं. २७ लाई दिन प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
बैठकमा प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विषयगत समितिका संयोजकहरु र राजस्व समितिका सदस्यहरु उपस्थित थिए ।
खुला मञ्चमा कार्यक्रम आयोजना गर्ने आयोजकले वडा नं. २७ को धरौटी खातामा २५ हजार रुपियाँ धरौटी राख्नुपर्नेछ । मञ्चमा बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म गरी २ सिफ्टमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसरी कार्यक्रम सञ्चालन गर्दा मञ्चको मर्मत सम्भार, विद्युत महसुलसहित प्रति सिफ्ट ५ हजार रुपियाँ शुल्क तिर्नु पर्नेछ ।
आयोजकले कार्यक्रम स्थलमा आफ्नो पहिचान झल्किने व्यानरबाहेक अन्य विज्ञापनजन्य सामग्री राख्न पाउने छैनन् । टिकट विक्री गरेर सञ्चालन हुने कार्यक्रम गर्न पाइनेछैन । जसले कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएको सो समयमा तेस्रो पक्षलाई कार्यक्रम सञ्चालनको अनुमति दिन पाइने छैन । जसले जुन कार्यक्रम गर्न स्थल लिएको हो, उसैले तोकिएको कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रम सञ्चालन गर्दा उत्सर्जन भएको फोहरको व्यवस्थापन गर्ने दायित्व आयोजक आफैँको हुनेछ । थप अस्थायी शौचालय आवश्यक पर्ने भए आयोजकले घुम्ती शौचालयको व्यवस्था गर्न सक्नेछन् ।
मञ्चको संरचना बिग्रिने गरी खाल्टा खन्ने, सौन्दर्य तथा हरियाली नाश हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन । मञ्चभित्र सवारी साधन लैजान तथा पार्किङ् गर्न पाइनेछैन । धुमपान तथा मद्यपान विक्री वितरण गर्न प्रयोग गर्न गराउन पाइनेछैन ।
कानुनले निषेध गरेका तथा महानगरपालिकाले राखेका सर्तको पालना नगरेमा आर्थिक ऐनले तोके बमोजिमको जरिवाना वा हानी नोक्सानी भएमा महानगरपालिकाको प्राविधिकले निरीक्षण गरेर दिएको क्षतिको मूल्याङ्कन प्रतिवेदनले शिफारिस गरेको रकम धरौटीबाट कट्टा गरेर बाँकी हुने रकम आयोजकलाई फिर्ता दिइनेछ । धरौटीबाट रकम अपुग भएमा आयोजकबाट थप रकम असुल गरिनेछ ।
खुला मञ्च २३ हजार ४१५ वर्गमिटर क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।