काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले झण्डै १ अर्ब रुपैयाँ अवैध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा २ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । २५० जना नेपालीलाई अवैध बाटोबाट अमेरिका पठाउने र मानव तस्करी गरी आर्जन गरेको रकम लुकाएको अभियोगमा रुकुमका दुई व्यक्ति विरुद्ध ९८ करोड ५ लाख ८२ हजार ७ सय ५१ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाइएको हो ।
ब्यूरोका अनुसार प्रतिवादीहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौँ बस्ने कल बहादुर बस्नेत र रुकुम पूर्व, सिस्ने गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौँ बस्ने अमित बस्नेत रहेका छन् । कल बहादुर हाल मानव बेचबिखन मुद्दामा डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने अमित अझै फरार रहेको ब्यूरोले जनाएको छ ।
प्रहरी अनुसन्धानका अनुसार यी दुई व्यक्तिले विना इजाजत कानून विपरीत गैरकानूनी बाटो प्रयोग गरी करिब २५० जना नेपालीलाई विभिन्न देश हुँदै अमेरिका प्रवेश गराएका थिए । कतिपय मानिसलाई अमेरिका लैजाने प्रलोभन देखाई विभिन्न देशमा पु¥याएर अलपत्र पारेको, ठगी गरेको र वैदेशिक रोजगार ठगी समेतका कसुर गरेको अनुसन्धानबाट खुलेको छ ।
यस अवैध धन्दाबाट आर्जित रकम उनीहरूले केही नगदै राख्ने र केही रकम आफ्नै नाममा सञ्चालित विभिन्न बैंक खाताहरूमा जम्मा गर्ने गरेको पाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत फागुन ४ गते दायर गरिएको आरोपपत्रमा दुवै प्रतिवादी विरुद्ध कडा सजाय र सम्पत्ति जफतको माग गरिएको छ ।
कल बहादुर बस्नेतको नाममा रहेका विभिन्न बैंक खातामा ७० करोड ६० लाख ५३ हजार ७ सय २२ रुपैयाँ शुद्धीकरण गरिएको भेटिएकाले सोही बराबरको बिगो कायम गरिएको छ । त्यस्तै, फरार रहेका अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बिगो कायम गरिएको छ ।
ब्यूरोले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ । साथै, उनीहरूको नाममा रहेका घर, जग्गा, बैंक मौज्दात र बिमा रकम समेत जफत गर्न माग गरिएको छ । ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार यो मुद्दा मानव बेचबिखनबाट आर्जित कालो धनलाई वैध बनाउने प्रयास विरुद्धको ठुलो कारबाही हो ।