सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानीय तहमा मतदाता भेटघाट, घरदैलो कार्यक्रम, सभासम्मेलन तथा जनसंवाद कार्यक्रममार्फत उनले प्रचार अभियानलाई व्यापक बनाएका छन् ।
यसअघि पाँचपोखरी थाङ्खल गाउँपालिका र हेलम्बु गाउँपालिकामा चुनावी प्रचारप्रसार सम्पन्न गरेका तामाङले आजदेखि इन्द्रावती गाउँपालिकामा प्रचार अभियान सुरु गरेका छन्। पाँचपोखरी र हेलम्बुमा स्थानीय जनताको अपार माया, समर्थन र उत्साहजनक सहभागिता पाएको बताउँदै उनले जनतासँग प्रत्यक्ष संवादमार्फत आगामी योजनाहरू र विकासका प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् ।
इन्द्रावती गाउँपालिकामा पनि उनलाई स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन्। प्रचारप्रसारका क्रममा विकास, रोजगारी, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रचारप्रसार कार्यक्रममा सहभागी एक नेकपा एमालेका नेताका अनुसार अहिले क्षेत्र नम्बर २ मा अत्यन्त सौहार्दपूर्ण र उत्साहजनक माहोल रहेको छ । जनताको व्यापक समर्थन र सकारात्मक वातावरणका कारण यसपटक शेरबहादुर तामाङले निर्वाचनमा आफ्नो जित पक्का रहेको उनले बताएका छन् ।