भक्तपुर । चाँगुनारायण नगरपालिकामा पाठेघरको क्यान्सर विरुद्ध एच.पि.भी. खोप अभियान सुरु भएको छ ।अभियान नगर प्रमुख जीवन खत्रीले श्रीकृष्ण मावि, खरिपाटीबाट औपचारिक रूपमा शुभारम्भ गर्नु भएको हो ।
नगरपालिकाले माघ २६ देखि फागुन १ सम्म विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै ४४ विद्यालयका ८३० जना छात्रालाई खोप लगाएको छ । यसमा यस वर्ष कक्षा ६ का ५९४ जना र गत वर्ष छुटेका कक्षा ७ का २३६ जना छात्रा समावेश छन ।
सो अवसरमा नगर प्रमुख खत्रीले अभियानमा कोहि पनि छुट्न नहुने बताउनुभयो । “पाठेघरको क्यान्सर रोकथाम हाम्रो प्राथमिकता हो । विद्यालय तहबाटै स्वास्थ्य सचेतना र सुरक्षालाई मजबुत बनाउँदै छात्रालाई सुरक्षित बनाउने हाम्रो लक्ष्य हो”, उनले भने ।
खोप अभियानमा ३७ स्वास्थ्यकर्मी र ३७ स्वयंसेवक परिचालन हुने छन् । विद्यालयमा छुटेका छात्राका लागि फागुन ४–५ मा ११ स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइनेछ ।