काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १४औँ) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय ‘कुलानन्द विद्या सर्वप्रथम पुरस्कार’ प्रदान गरिन् । साथै, उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गरिन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिन् । तालिमका क्रममा विकसित सामुहिक भावना, निर्णय क्षमताको विकास र संकटको सामना गर्ने अभ्यास पेशागत जीवनका आधार स्तम्भ भएको चर्चा गर्दै कुशल नेतृत्व क्षमता एवम् जिम्मेवारीबोध गराउँदै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम बनाउने समेत उनले बताइन् ।
नेपाल प्रहरी मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘एक जिम्मेवार प्रहरी अधिकृतको हैसियतले तपाईहरू आज राज्य र नागरिक बिचको पहिलो सम्पर्क बिन्दु बन्नुहुनेछ । नागरिकले आफ्नो सरकार तपाईको व्यवहार र आचरणमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्य प्रतिको धारणा जनताले बनाउनेछन् । त्यसैले तपाईहरूले सधै सम्झिदिनु होला कानुन भन्दा माथि कोहि छैन तर कानुन कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरूमा शिष्टता र मानवताको भावना पनि हुनुपर्छ । कानुनको सही कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान स्पष्ट र व्यावसायिक हुन्छ । दुखी गरिब र कमजोरको आवाज सुन्ने, निमुखाको भावना बुझ्ने तथा पद, प्रभाव, लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरूदण्ड हो ।’
परम्परागत अपराध सहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्दका नयाँ आयामहरू देखा परिरहेका र यस्तो अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सिमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उनले जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन् ।
कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने चर्चा गर्दै सही निर्णय गर्दा हुन सक्ने आलोचना र धम्कीबाट नडराई कार्य गर्नुपर्नेमा उनले जोड दिइन् । साथै समय अनुसार विकसित र सुदृढ प्रहरी नै राज्यको अपेक्षा र चाहना रहेकोले यसको निरन्तर सुधार र विकासको लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको उनले बताइन् ।
उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रको आन्तरिक सुरक्षा जस्तो गहन जिम्मेवारी वहन गरेको नेपाल प्रहरीको काँधमा कानुन कार्यान्वयन, अपराध नियन्त्रण र अनुसन्धान, मानव अधिकारको संरक्षण, विपद व्यवस्थापन जस्ता संवेदनशील दायित्वहरू रहेको बताए । आज दीक्षित हुने प्रहरी अधिकृतहरू अब केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानुनको संरक्षक र जनविश्वासका वाहक भएको उनले बताए ।
अपराधका स्वरूप जटिल बन्दै चुनौतीहरू बढिरहेको अहिलेको अवस्थामा पुरानो सोच र पुराना विधिबाट मात्र नयाँ समस्या समाधान नहुने हुँदा त्यसता समस्यालाई फरक ढंगबाट बुझेर सोही अनुरूप समाधान गर्नुपर्ने एवम् कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको पनि आवश्यकता रहने उनले बताए । आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी पूर्ण रूपमा तटस्थ, व्यावसायिक र कानुन अनुसार परिचालित भई विगतमा जस्तै यस पटकको निर्वाचन पनि सफलता पुर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास उनले व्यक्त गरे ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाई अनि चुनौतीहरू पार गर्दै झन्डै १९ महिना पश्चात आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै सफल एवम् उपलब्धीपूर्ण सेवाकालको लागि शुभकामना सहित पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत समेत गरे ।
प्रहरी आम नागरिकले सुखमा भन्दा दुखमा, हर्षमा भन्दा पिडामा, कुनै पनि आपतविपत र समस्या पर्दा तत्काल सम्झिने नागरिकका दैनिक कार्यसँग अन्योन्याश्रित रहेको निकाय भएको र यो संगठनको सदस्य हुन पाउनुमा जति गर्व र सम्मान जोडिएको छ यो सँगै गाँसिएर आउने जिम्मेवारी र चुनौतीहरूका दायराहरू पनि त्यत्तिकै बृहत्त हुने उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या, पिडा र दुख राज्यको सम्बन्धित निकाय सम्म पुर्याइदिने संवाहक तथा राज्य उनीहरू सँगै रहेको अनुभूति दिलाउन सक्ने प्रतिनिधि पनि प्रहरी भएको चर्चा गर्दै नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रथम पंक्तिमा उभिएर आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेको बताए । सात दशकको इतिहास बोकेको नेपाल प्रहरीले अनेकौँ उतारचढाव वाबजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत रूपमा समर्पित रहेको उनले उल्लेख गरे ।
समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराएका थिए । साथै उनले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ साउन २१ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिए ।
प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ–आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए । दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्री ज्यूका मुख्य सल्लाहकार, प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।