एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेतृ आरजु राणा, कांग्रेस सभापति गगन थापा, एमाले नेता महेश बस्नेत, विनोद चौधरीलगायत १३ जना नेताको परिचय दुरुपयोग गरेर फन्ड उठाउँदै आएका १ अमेरिकी नागरिक पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय स्तरमा फन्ड उठाउने उद्देश्यले ‘नेपाल इन्टरनेसनल कलेज’को नाममा वेबसाइट बनाएर नेपालका राजनीतिक नेतृत्वसमेत टोलीमा रहेको दाबी गर्दै आएका उनलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।
उनले भनेको कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिज आदि पढाउने दाबी गरिएको थियो । उनले सञ्चालन गरेको भनिएको कलेज त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त भनेर प्रचार गरेको पाइएको छ । तर, एउटै कलेजले २ विश्वविद्यालयसँग सम्बन्धनप्राप्त गर्न नसक्ने अध्यागमनले जानकारी दिएको छ । सम्बन्धनको आधिकारिक प्रमाणसमेत नरहेको अध्यागमनले जनाएको छ । यसैगरी लाइब्रेरी क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरूको समेत नाम उल्लेख गरेको अध्यागमनले जनाएको छ । नाम गोप्य राखिएका ती अमेरिकी नागरिक १२ वर्षमा ५० भन्दा धेरै पटक नेपाल आवतजावत गरेकोसमेत खुलेको छ । उनी सन् २०१४ देखि पर्यटन, वर्किङ, व्यावसायिकलगायत विभिन्न भिसामा पटक–पटक नेपाल आएको अध्यागमनले जनाएको छ ।