भक्तपुर । केही वर्ष अगाडिसम्म ओझेलमा परेको सूर्यविनायक नगरपालिका गुण्डुको घ्याम्पेडाँडा रानीकोट क्षेत्र अहिले प्रमुख पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । आन्तरिक पर्यटकको चाँप निकै बढ्दै गएपछि यस क्षेत्रमा रहेका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण, पुनर्निर्माणमा स्थानीय, प्रदेश र सघीय सरकार जुटेको छ ।
सूर्यविनायक नगरपालिका वडा न. ७ घ्याम्पेडाँडामा ऐतिहासिक एवं परम्परागत सम्पदा संरक्षणको क्रममा घ्याम्पो निर्माण भएको छ । सूर्यविनायक नगरपालिकाको विशेष पहलमा यस क्षेत्र प्रमुख पर्यटकीय क्षेत्र बन्न सफल भएको नगरपालिकाका प्रमुख बासुदेव थापाले बताए । घ्याम्पेडाँडामा घ्याम्पो लोप भइसकेको अवस्थामा परम्परागत रुपमा नगरपालिकाले घ्याम्पो निर्माण गरेको हो । अहिले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटककको घुइचो लाग्ने गरेकोे थापाले प्रष्ट पारे ।
नगर प्रमुख थापाले भने “सूर्यविनायक नगरपालिका क्षेत्र, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले धेरै सम्भावना बोकेको क्षेत्र हो, त्यसैले नगरपालिकाले हराएको इतिहास खोज्ने र ब्युझाउने काम गरिरहेको छ, हामी यो क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिहेका छौँ ।”
नगरपालिका वडा नं ७ का वडाध्यक्ष एवं नगर प्रवक्ता रबिन्द्र सापकोटाले रानीकोट ,घ्याम्पेडाँडा चुच्चे ढुंगाा नगरपालिकाकै प्रमुख पर्यटकीय क्षेत्र भएको बताए ।अहिले सो क्षेत्रमा पुग्न सूर्यविनायकबाट घ्याम्पेडाँडा हँुदै रानीकोटसम्म जाने सडक पक्की भएकाले सहजिलै आवतजावत गर्न सकिने भएकाले आन्तरिक र बाह्रय पर्यटकको दैनिक वृद्धि हुँदै गएको वडाध्यक्ष सापकोटाले स्पष्ट पारे ।
पूर्वमन्त्री महेश बस्नेतको पहलमा सूर्यविनायक क्षेत्रमा आएको करोडौंको बजेटले विकास निर्माण तिब्र भएको स्थानीय बताउँछन् । पैदल हिड्न मुश्किल हुने ठाउँमा मोटर बाटो पुगेको, प्रत्येक खोलामा पुल बनेको र सुनसान ठाउँ पर्यटकीय गन्तव्य बनेको छ । गुण्डु तारकेश्वरबाट घ्याम्पेडाँडा जाने सडक पनि पक्की बन्न लागेको छ बालकुमारी, पनौती सडक खण्ड पनि यही आसपास भएर पनौति पुग्दैछ ।
नगरपालिकाले धार्मिक पर्यटनको विकास गर्न वडा नं १ देखि १० सम्म रहेको शिव मन्दिरहरुमा पुग्ने गरी पदमार्गसहित शिव परिपथ निर्माणको काम अगाडि बढाएको छ । पर्यटकीय गन्तव्य बन्दै गएपछि यसक्षेत्रमा साना तथा ठूला प्रकृतिका होटल सञ्चालनमा आएका छन् भने अरु होटल निर्माणको क्रममा रहेको जनाइएको छ । यहाँबाट प्रसिद्ध १० वटा आकर्षक हिमाल र काठमाडौंं उपत्यका हेर्न सकिने भएकाले घ्याम्पेडाँडा–रानीकोट आफैँमा दृश्यावलोकन स्तम्भ र प्राकृतिक सौन्दर्यको खानी भन्ने गरिन्छ ।
सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सविन तामाङले घ्याम्पेडाँडाँ र रानीकोट क्षेत्रमा आन्तरिक र बाह्रय पर्यटकले एक रात दुई दिन प्राकृतिक दृश्यावलोकन गर्दै सजिलै बिताउन सकिने भएकाले पर्यटकलाई यस क्षेत्रमा घुम्न निमन्त्रणा गरे ।
घ्याम्पेडाँडा, रानीकोट नवपर्यटकीय क्षेत्र भएको भन्दै उनले भने, “सूर्यविनायकबाट पाँच किलोमिटरको दुरीमा पाइलटबाबा, ऐतिहासिक घ्याम्पो, सहासिक खेलको रुपमा स्थापित भएको जीप लाइन, साइकलिङ र ऐतिहाकि एवं पुरातात्विक रानीकोट दरवार र चुच्चे ढुंगाा लगायतका क्षेत्रमा प्राकृतिक दृश्यावलोकन गर्दै कम्तिमा दुई दुई घण्टा घुम्न सकिने भएकाले यस क्षेत्र उपत्यकाकै नव पर्यटकीय गतव्यको रुपमा स्थापित भएको छ ।” यस क्षेत्रमा साना, मध्यम र उच्च स्तरका होटल समेत सञ्चालन भएकाले राष्ट्रिय स्तरका कार्यक्रम गर्नका लागि पनि उपयुक्त स्थानको रुपमा छनौट गर्न सकिने उनले बताए ।
स्थानीय ज्येष्ठ नागरिक लालबहादुर लामाले धेरै वर्ष पहिला काभ्रेपलाञ्चोकको साविक र¥याले गाविसदेखि रानीकोट, घ्याम्पेडाँडा लगायतका बासिन्दा यही बाटो भएर सदरमुकाम भक्तपुर बजारसम्म गएर आवश्यक सामग्री खरिद गरी भारी बाकेर आवतजावत गर्दा तिर्खा मेटाउन स्थानीयवासीले माटोको घ्याम्पोबाट पानी पिउने व्यवस्था गरेकाले यो ठाउँको नाममा घ्याम्पेडाँडा रहन गएको उनले बताए ।
भारी बोकेर ओहोरदोहोर गर्नेहरुलाई थकाई मार्दै घ्याम्पोको चिसो पानी खाएर जाने व्यवस्था गरिए पनि विकाससँगै यो बाटोको प्रयोग कम हुँदै गएपछि घ्याम्पोको अस्तित्व मेटिदै गएको स्थानीय वासिन्दाको भनाइ छ । सूर्यविनायकदेखि घ्याम्पेडाँडा रानीकोटसम्म जान सरकारले ज्यालाका रुपमा दिएको चामल, पिठोलगायतका खाद्यान्न लिएर महिनौं लगाएर स्थानीयवासीले कुटो, कोदालो, कोदालीकै भरमा यो सडकको गोरोटे बाटो खोलेको लामाले बताए ।