काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापश्चात सोल्टी होटलमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतारका समकक्षीबीच हस्ताक्षर भएको हो। नेपाल र कतारबीच खेलकुद, उद्योग, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृतिको क्षेत्र र राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच पनि सम्झौता भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो।