काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । अहिले देशभर बदली भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज पहाडी भू-भागमा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शुक्रबार पहाडी भू-भागमा बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै शनिबार पहाडी भू-भागमा बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।