काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकमलाई बयान गराउने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुंगानाले सो अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयान गराउने आदेश गरेका हुन् । बयानका लागि उनीहरूलाई वैशाख २० मा अदालतमा आउन भनिएको छ ।
अख्तियारले गर्ने स्टिङ अपरेशन खारेज गराउन बयान फेर्ने र पैसा लेनदेन गर्नेबारे डिल भएको भनिएको ‘अडियो’ सो अनलाइनले प्रसारण गरेको थियो । मुद्दा खारेज गराउन आयोजित डिलमा सर्वोच्चका न्यायाधीश आनन्दमोह भट्टराई पनि सहभागी भएको सो अनलाइनले दाबी गरेको थियो । सो समाचार प्रशारणपछि सर्वोच्च अदालतका उपरजिस्टार गोविन्द प्रसाद घिमिरेले मुद्दा दर्ता गर्नका लागि प्रतिवेदन दिएका थिए ।
प्रकाशित सामग्री २४ घण्टाभित्र हटाउन अदालतले आदेश गरेको छ । सो मुद्दामा बहस गर्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रेस स्वतन्त्रताको पिल्लर भनेको न्यायपालिका भएको बताए । इजलासमा उनले भने,‘जब न्यायपालिका गिराइन्छ त्यसले राम्रो सन्देश जाँदैन ।’