काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा ६ खर्ब ४० अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साउनदेखि मंसिरसम्ममा ६ खर्ब ४० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो । मंसिर एक महिनामा मात्रै १ खर्ब १८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो २४ महिनादेखि निरन्तर रूपमा मासिक १ खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को ५ महिनामा ६ खर्ब १३ अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
चालु आवको ५ महिनामा ३ अर्ब १८ करोड रूपैयाँ रेमिट्यान्सको रूपमा बाहिरिएको छ । ५ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ । यो संख्या अघिल्लो वर्ष मंसिरमा क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ थियो । यस अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो ।