तनहुँ । दिवंगत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख ७ हजार रूपैयाँभन्दा बढी रकम संकलन गरिएको छ । तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत संकलित कूल १६ लाख ७ हजार ८३२ रूपैयाँ मध्ये उपाध्यायकी पत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि १२ लाख ५ हजार ८७५ रूपैयाँ हस्तान्तरण गरिएको हो ।
तनहुँ अन्तरराष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरा कार्की उपाध्यायलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरे । संकलित रकममध्ये बाँकी ४ लाख १ हजार ९५७ दसैँलगत्तै स्व उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ ।
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहेका स्व उपाध्यायको गत महिना निधन भएको थियो । तनहुँको भानु नगरपालिका–१, भन्सार निवासी उपाध्यायको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संस्थाको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको हो ।