अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन् ।
बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा द्विपक्षीय वार्ताहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन् । बैठक अवधिमा अर्थमन्त्री डा. वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।