काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका छोडेर घर फर्किने यात्रुहरूको संख्यामा तीव्र वृद्धि भएको छ। ट्राफिक प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार असोज २६ गते मात्रै विभिन्न नाका हुँदै ५६ हजार ८ सय ९ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
सोही अवधिमा ३९ हजार १ सय १५ जना यात्रु उपत्यका भित्रिएका छन्। उपत्यकाका विभिन्न मुख्य नाकाहरू (नागढुङ्गा, फर्पिङ, भक्तपुर, थानकोट, भिमढुङ्गा, तिनपिप्ले, साँखु र भट्टेडाँडा) बाट दैनिक रूपमा हजारौँ सवारी साधन आवतजावत भइरहेका छन्।
नागढुङ्गा र भक्तपुर नाकामा उच्च चाप
सबैभन्दा बढी यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। नागढुङ्गा भएर २ हजार ९ सय ४९ वटा सवारी साधनमार्फत २७ हजार ६ सय ४९ जना यात्रु बाहिरिएका छन् भने सोही नाकाबाट १८ हजार ३५ जना यात्रु भित्रिएका छन्।
यस्तै, भक्तपुर नाकाबाट पनि यात्रुको ठूलो चहलपहल देखिएको छ। भक्तपुर नाका हुँदै ४ हजार २ सय ३० सवारी साधनबाट २० हजार ६ सय ९५ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने ३ हजार ४८ सवारी साधनमार्फत १२ हजार ६ सय २० जना यात्रु भित्रिएका छन्।
बाहिरिनेमा पुरुषको संख्या बढी
उपत्यकाबाट बाहिरिने कुल ५६,८०९ यात्रुमध्ये ३५ हजार ४ सय ६१ जना पुरुष र २१ हजार ३ सय ४८ जना महिला रहेका छन्। त्यस्तै भित्रिने ३९,११५ यात्रुमा २३ हजार ४ सय ९१ पुरुष र १५ हजार ६ सय २४ जना महिला रहेका छन्।
सो दिन उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको संख्या भने लगभग बराबर जस्तै रहेको छ। कुल ८ हजार ६ सय २४ सवारी साधन उपत्यका भित्रिँदा ८ हजार ६ सय १३ वटा सवारी साधन बाहिरिएका छन्।
चाडपर्वको समयमा नाकाहरूमा हुन सक्ने सवारी जाम र सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले नाकाहरूमा सुरक्षा र अनुगमन कडा बनाएको जनाएको छ।