काठमाडौं। अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी, मोदीलगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए ।
विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अन्य उपलब्ध प्रसारणर वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले उल्लेख गरे। क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमशः पुनःस्थापना गर्ने कार्य भइरहेको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । उनका अनुसार, भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। । सडक तथा पहुँचमार्ग खुल्ने बित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने उनले बताए ।
प्राधिकरणबाट विद्युत् संरचनामा क्षति पुगेका कारण केही स्थानमा आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति निरन्तरता दिन तथा सम्भव भएसम्म छोटो समयमा नियमित आपूर्ति पुनःस्थापित गर्न सबै स्रोतसाधन परिचालन गरिएको छ । विपद्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोल नजिक नजान प्राधिकरणले आग्रह गरेको छ ।