कीर्तिपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित ४ दिने ‘स्टार्टअप र उद्यमशीलता’ सम्बन्धी बुटक्याम्प सम्पन्न भएको छ। विद्यार्थीहरूमा उद्यमशील सोच, सकारात्मक दृष्टिकोण, नवप्रवर्तन, नेतृत्व क्षमता र व्यावहारिक व्यावसायिक सीप विकास गर्ने उद्देश्यले आयोजित यस बुटक्याम्पले विद्यार्थीहरूलाई नयाँ सम्भावनाहरूसँग जोड्न सफल भएको छ । कार्यक्रमको उद्घाटन व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेको प्रमुख आतिथ्य तथा स्ववियु सदस्य कुलबहादुर बुढा (के.बी. बुढा क्षेत्री) को संयोजकत्वमा सम्पन्न भएको थियो ।

चार दिनसम्म चलेको यस कार्यक्रममा नेपालका ख्यातिप्राप्त उद्यमी, लेखक तथा समाजसेवी कर्ण शाक्यले विशेष मन्तव्य राख्दै विद्यार्थीहरूलाई आफ्नो प्रेरणादायी विचार, अनुभव र ज्ञानमार्फत उत्साहित गरेका थिए । त्यस्तै, कार्यक्रमको अन्तिम दिन प्रतिनिधि सभा सदस्य माननीय आनन्दबहादुर चन्दले ‘सुदूरपश्चिम स्टार्टअप समिट २०२६’ को सन्दर्भमा जानकारीमूलक विचार राखेका थिए ।
बुटक्याम्पका विभिन्न सत्रहरूमा इन्जिनियर खगेन्द्र बस्नेत, मुकेश धमला, अनिल बस्नेत, सहप्राध्यापक डा. गोविन्द तामाङ, सहायक प्राध्यापक डा. भरतसिंह थापा, सहप्राध्यापक डा. प्रमोद पौडेल, सहायक प्राध्यापक सुवनराज आचार्य र सगुन ढुङ्गानाले प्रशिक्षण तथा सहजीकरण गरेका थिए। उनीहरूको निरन्तर मार्गदर्शनले विद्यार्थीहरूको सोच र सम्भावनालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
यसैबीच, कार्यक्रमअन्तर्गत आयोजित ‘Idea Pitching Session’ मा डा. छिरिङ लामा (क्षेरीङ), उज्ज्वल चापागाईं र डा. भरतसिंह थापाले निर्णायक मण्डलको भूमिका निभाएका थिए। केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीले हल व्यवस्थापनमा सहयोग पुर्याएका थिए ।
.jpeg)
कार्यक्रमको समापन गर्दै स्ववियु सचिव हिक्मतकुमार बुढाले यो चार दिने यात्रा केवल एउटा कार्यक्रम मात्र नभई सोच बदल्ने, सम्भावना पहिचान गर्ने र विचारलाई उद्यममा रूपान्तरण गर्ने महत्वपूर्ण सिकाइ यात्रा भएको बताए। “Ideas to Action, Learning to Leadership, Dreams to Entrepreneurship” भन्ने नारासहित सम्पन्न यस बुटक्याम्पले विद्यार्थीहरूलाई भविष्य निर्माणतर्फ अग्रसर हुन ठूलो ऊर्जा दिएको उनको भनाइ छ ।
.jpeg)