नयाँ कुमारी आर्यतारा शाक्यले शुक्रबार पहिलोपटक इन्द्रजात्राको अवसरमा नगर परिक्रमा गरेकी छन् । गत वर्ष कुमारीका रूपमा नियुक्त भएकी आर्यताराका लागि यो पहिलो इन्द्रजात्रा हो । इन्द्रजात्राको परम्पराअनुसार कुमारीसँगै गणेश र भैरवलाई पनि छुट्टाछुट्टै रथमा विराजमान गराई काठमाडौंका भित्री सहर क्षेत्रमा परिक्रमा गराइन्छ । तीन जीवित देवताको रथयात्रा इन्द्रजात्राको प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ ।
वर्षाका बीच पनि काठमाडौं दरबार स्क्वायरमा हजारौँ भक्तजनको भीड लागेको थियो । भक्तजनले जीवित देवीदेवताका रूपमा श्रद्धापूर्वक पूजा गरिने कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए ।