दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका काठमाडौँ उपत्यकाको नजिकै रहेको धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँको मनमोहक हावापानी, प्राकृतिक सौन्दर्य तथा अर्गानिक कृषि उत्पादनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएका अध्यक्ष कृष्णमान लामासँग स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले गरेका विकास निर्माणका काम, उपलब्धि, चुनौती तथा आगामी योजनाका विषयमा हाम्रा संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः
कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तह निर्वाचनपछिको साढे चार वर्षमा स्थानीय नागरिकले अनुभूति गर्ने गरी गरेका भौतिक पूर्वाधार विकासहरू के–के हुन् ?
भौगोलिक रूपमा काठमाडौं नजिक भए पनि कोन्ज्योसोम केही पछाडि परेको स्थान हो। प्रदेश सरकारको विशेष सहयोग र कोन्ज्योसोम गाउँपालिकाको आफ्नै लगानीमा साढे चार वर्षको अवधिमा करिब १२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । हिजोको दिनमा यहाँ करिब तीन किलोमिटर मात्र सडक कालोपत्रे भएको अवस्था थियो। त्यस्तै, एक किलोमिटर शाखा सडक ढलान गरिएको छ।आधारभूत अस्पतालको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । कोन्ज्योसोमको प्रतिमास्थलमा पहिले जग मात्र थियो । अहिले हामीले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी घुम्नलायक बनाएका छौं । यद्यपि, उक्त काम अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । विद्यालय भवन निर्माणका अधिकांश काम सम्पन्न भएका छन् । केही मर्मतसम्भारका कामबाहेक विद्यालयका पूर्वाधार निर्माणका काम लगभग पूरा भएका छन् । वडा कार्यालयहरू पनि सम्पन्न हुने चरणमा छन् । खानेपानीका लागि आवश्यक आधारभूत पूर्वाधार तयार भएका छन् । पुल–पुलेसातर्फ पनि केही महत्वपूर्ण काम भएका छन् । यद्यपि, अझै केही स्थानमा पुल–पुलेसा निर्माण गर्न आवश्यक छ ।
समग्रमा हेर्दा, भौतिक पूर्वाधारका क्षेत्रमा मेरो भाषामा भन्नुपर्दा क्रान्तिकारी परिवर्तन भएको छ । गाउँपालिकाका सबै गाउँ, टोल र बस्तीमा कच्ची सडक पुगेका छन् ।अबका दिनमा केही स्थानका सडकलाई कसरी थप व्यवस्थित र स्तरोन्नति गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं । आगामी तीन वर्ष काम गर्ने अवसर प्राप्त भयो भने कुनै पनि टोलमा जाने सडकलाई बाह्रै महिना सञ्चालन गर्न सकिने अवस्थामा पुयाउने हाम्रो लक्ष्य छ । पूर्वाधारको दृष्टिले हेर्दा हामीले विगतमा निर्माण गरेका कतिपय संरचना बाढीपहिरोका कारण क्षतिग्रस्त भएका थिए । सडक, विद्यालय तथा सिँचाइका कुलोजस्ता संरचनाहरूमा क्षति पुगेको थियो । ती संरचनाहरूको पुनर्निर्माण र मर्मतसम्भार पनि हामीले गरेका छौं । .jpg)
कोन्ज्योसोम गाउँपलिकाको पर्यटन प्रबद्र्धनका मुख्य उपायहरु केके अबलम्बन गर्न सकिन्छ ?
कोन्ज्योसोम गाउँपालिकाको पर्यटन विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित नगरी धार्मिक, सांस्कृतिक, कृषि, प्राकृतिक र ग्रामीण पर्यटनलाई एउटै प्याकेजमा जोड्नुपर्ने देखिन्छ । पाँचवटै वडाका छुट्टाछुट्टै विशेषतालाई गन्तव्यका रूपमा विकास गरी आपसमा जोड्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । १=पाँचवटै वडालाई एउटै पर्यटन सर्किटमा जोड्ने वडा नं. १ को घ्याबा लामासम्बन्धी मौलिक संस्कार, वडा नं. २ को छोर्तेन तथा सांस्कृतिक गाउँ, वडा नं. ३ को मनकामना मन्दिर र भ्यूटावर, वडा नं. ४ को पाथीभिरा मन्दिर तथा प्रस्तावित स्मार्ट गाउँ र वडा नं. ५ को कोन्ज्योसोम प्रतिमा तथा झरनालाई जोडेर “कोन्ज्योसोम पर्यटन सर्किट” निर्माण गर्न सकिन्छ । यसले पर्यटकलाई एउटै स्थानमा पुगेर फर्किनु भन्दा एक वा दुई दिन गाउँपालिकाभित्रै घुम्ने वातावरण बनाउँछ । २. मौलिक संस्कृति र धार्मिक पर्यटनलाई ब्रान्ड बनाउने वडा नं. १ मा रहेको घ्याबा लामाले गर्ने पुरानो संस्कार ललितपुरमै विशिष्ट सांस्कृतिक सम्पदा बन्न सक्ने भएकाले यसको अभिलेखीकरण, प्रदर्शन र प्रचार गर्नुपर्छ । वडा नं. २ को छोर्तेन र तामाङ संस्कृतिलाई समेटेर सांस्कृतिक गाउँ विकास गर्न सकिन्छ । धार्मिक स्थलहरूमा पूजा–दर्शनसँगै स्थानीय इतिहास, संस्कृति र जीवनशैली बुझ्ने अवसर सिर्जना गर्नुपर्छ । ३. कृषि पर्यटनलाई पर्यटनसँग जोड्ने
कोन्ज्योसोममा कृषि तथा पशुपालनको राम्रो आधार भएकाले पर्यटकलाई स्थानीय कृषि उत्पादन, पशुपालन, खेतबारी अवलोकन, स्थानीय परिकार तथा कृषि गतिविधिमा सहभागी गराउने “फार्म टुरिजम” विकास गर्न सकिन्छ । स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्दा पर्यटनबाट किसानको आम्दानीसमेत बढ्छ । ४. होमस्टे र स्थानीय खानालाई प्राथमिकता दिने हाल गाउँगाउँमा होमस्टेको पर्याप्त विकास नभएकाले प्रत्येक वडामा सम्भावनायुक्त घर तथा बस्ती पहिचान गरी होमस्टे सञ्चालनका लागि तालिम, मापदण्ड, सहुलियत र प्रचार आवश्यक छ । पर्यटकलाई स्थानीय खाना, तामाङ संस्कृति, गाउँको जीवनशैली र स्थानीय उत्पादनसँग जोड्न सके बसाइ अवधि बढाउन सकिन्छ। ५. वडा नं. ३ लाई पर्यटनको प्रमुख हब बनाउने मनकामना मन्दिर, भ्यूटावर र निर्माणाधीन होटलका कारण वडा नं. ३ लाई गाउँपालिकाको पर्यटकीय हबको रूपमा विकास गर्न सकिन्छ । यहाँ रेस्टुरेन्ट, क्याफे, स्थानीय उत्पादन बिक्री केन्द्र, सूचना केन्द्र, पार्किङ, शौचालय, फोटो प्वाइन्ट तथा साहसिक÷मनोरञ्जनात्मक गतिविधि थप्न सकिन्छ । निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नु महत्वपूर्ण हुन्छ । ६. काठमाडौं उपत्यकाबाट छोटो दूरीको गन्तव्यका रूपमा प्रचार गर्ने कोन्ज्योसोमको सबैभन्दा ठूलो सम्भावनामध्ये एक यसको काठमाडौं उपत्यकासँगको निकटता हो ।
त्यसैले “काठमाडौं नजिकको ग्रामीण, धार्मिक र प्राकृतिक गन्तव्य” भन्ने पहिचान स्थापित गर्न सकिन्छ । एकदिने र दुईदिने प्याकेज बनाएर विद्यालय, कलेज, परिवार, कार्यालय तथा विभिन्न संघसंस्थालाई लक्षित गर्न सकिन्छ । ७. डिजिटल प्रचारलाई आक्रामक बनाउने पर्यटकीय स्थलका राम्रो फोटो तथा भिडियो, गोगल म्यापमा सही विवरण, वेबसाइट, फेसबुुक, स्टाग्राम, युुटुुब जस्ता माध्यमबाट नियमित प्रचार गर्नुपर्छ । प्रत्येक वडाका लागि छोटो भिडियो तथा क्युुआर कोर्डसहितको डिजिटल पर्यटन नक्सा निर्माण गर्न सकिन्छ । बाह्य पर्यटकका लागि सामाग्री अंग्रेजी भाषामा समेत उपलब्ध गराउनुपर्छ । ८. पर्यटन वर्ष २०८३ लाई ‘दिगो पर्यटन अभियान’ बनाउने २०८३ साललाई पर्यटन वर्षका रूपमा मनाउने तयारीलाई केवल एउटा कार्यक्रम वा महोत्सवमा सीमित नगरी दीर्घकालीन अभियान बनाइरहेका छौ । पर्यटन वर्षमा सांस्कृतिक महोत्सव, कृषि मेला, स्थानीय खाना महोत्सव, धार्मिक यात्रा, पदयात्रा, साइकल यात्रा, फोटो प्रतियोगिता र होमस्टे प्रवद्र्धन जस्ता कार्यक्रम गर्न सकिन्छ । ९. स्थानीय युवालाई पर्यटन व्यवसायमा जोड्ने पर्यटनको लाभ स्थानीयमै पु¥याउन गाइड, होमस्टे सञ्चालक, होटल÷रेस्टुरेन्ट, यातायात, हस्तकला, कृषि उत्पादन, फोटोग्राफी तथा डिजिटल मार्केटिङमा युवालाई तालिम दिनुपर्छ । यसबाट रोजगारी सिर्जना हुनुका साथै वैदेशिक पलायन घटाउन पनि सहयोग पुग्छ । १०. पूर्वाधारसँगै सेवा र सरसफाइ सुधार गर्ने पर्यटकीय पूर्वाधार निर्माणसँगै सडक पहुँच, पार्किङ, सार्वजनिक शौचालय, खानेपानी, फोहोर व्यवस्थापन, संकेत बोर्ड, विश्रामस्थल, सुरक्षा र प्राथमिक उपचारको व्यवस्था आवश्यक छ। पर्यटकले गन्तव्यमा पुग्दा पाउने अनुभव र सेवा नै पुनः आउने र अरूलाई सिफारिस गर्ने मुख्य आधार बन्न सक्छ ।
कोन्ज्योसोम गाउँपालिकाले अहिले मनाइ रहेको कोन्ज्योसोम भ्रमण वर्ष २०८३ को उद्देश्य पनि गाउँका नागरिकलाई गाउँमै राख्ने र उत्पादन वृद्धि गर्ने भन्ने नै हो नी ?
“कोन्ज्योसोम भ्रमण वर्ष २०८३ को उद्देश्य केवल पर्यटक भित्र्याउन ुमात्र होइन । कोन्ज्योसोममा के–के सम्भावना छन् भन्ने कुरा पहिचान गर्ने, यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा कृषि–उत्पादनका विशेषतालाई प्रवद्र्धन गर्ने र पर्यटनमार्फत पनि गाउँको समृद्धि सम्भव छ भन्ने सन्देश विश्वसामु पु¥याउने हो । अहिले काठमाडौंमै रहेका धेरै मानिसलाई समेत कोन्ज्योसोममा के छ भन्ने पर्याप्त जानकारी छैन । त्यसैले कोन्ज्योसोमका सम्भावनालाई प्रचार–प्रसार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने, पर्यटक आउने नयाँ बाटो र वातावरण तयार गर्ने तथा स्थानीय नागरिकलाई आफ्नै गाउँमा बसेर आयआर्जन गर्न सक्ने आधार निर्माण गर्नु पर्यटन वर्षको महत्वपूर्ण उद्देश्य हो। कोन्ज्योसोम पर्यटन वर्ष २०८३ वैशाखदेखि चैत मसान्तसम्म सञ्चालन हुनेछ ।”
नागरिकको नजिकको सरकार भनेको स्थानीय सरकार नै हो ? नागरिकले आफ्ना गाह्रो–साह्रो, पीरमर्का र गुनासो राख्ने स्थान पनि स्थानीय सरकार नै हो ? यस अवधिमा गाउँपालिकाले स्थानीय नागरिकलाई आर्थिक समृद्धितर्फ अग्रसर गराउन र उत्पादन बढाउन के–कस्ता काम गरेको छ ?
हो, नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । नागरिकका दैनिक समस्या, गाह्रो–साह्रो, पीरमर्का र गुनासो प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि पहल गर्ने पहिलो जिम्मेवारी पनि स्थानीय सरकारकै हुन्छ । त्यसैले हामीले नागरिकका समस्या समाधानसँगै उनीहरूको आर्थिक अवस्था सुधार गर्ने र उत्पादनसँग जोड्ने विषयलाई पनि प्राथमिकतामा राखेका छौँ । हाम्रो कोन्ज्योसोम गाउँपालिका पशुपालन तथा तरकारी खेतीका लागि उर्वर भूमि भएको क्षेत्र हो । यहाँको सम्भावनालाई पहिचान गर्दै कृषकहरूलाई व्यावसायिक कृषि तथा पशुपालनतर्फ अघि बढाउने काम गरेका छौँ । गाउँ–गाउँमा ‘एक वडा, एक उत्पादन’ जस्ता कार्यक्रम सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरिरहेका छौँ।विशेषगरी पशुपालन र तरकारी खेतीलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएका छौँ । दक्षिण ललितपुरलाई तरकारी तथा दुग्ध उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने सम्भावना छ । त्यसैलाई ध्यानमा राखेर यस वर्षदेखि उत्पादनमा आधारित नयाँ कार्यक्रमहरू पनि सुरु गरेका छौँ । पशुपालनतर्फ स्रोत केन्द्रका रूपमा क्षेत्र विकास गर्ने र पहाडी पाडीहरू हुर्काएर उन्नत दुग्ध उत्पादन गर्ने कार्यक्रम अघि बढाएका छौँ । यसबाट स्थानीय किसानको आयआर्जन बढाउने र गाउँमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो । त्यस्तै, किसानले उत्पादन गरेको तरकारीलाई बजारसँग जोड्ने विषयमा पनि विशेष प्रयास भइरहेको छ । उत्पादन गरेपछि बजार नपाउने समस्या नहोस् र किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले काठमाडौं उपत्यकामा रहेका स्थानीय तहहरूसँग समन्वय गरिरहेका छौँ ।
यसै क्रममा कृषि एम्बुलेन्स सञ्चालन गर्ने अवधारणा अघि बढाएका छौँ । किसानले बिहान उत्पादन गरेको तरकारीलाई सकेसम्म छिटो बजारसम्म पु¥याउने र ढिलोमा साँझसम्म काठमाडौं उपत्यकाका बजारमा पु¥याउने गरी काम भइरहेको छ। यसले उत्पादन र बजारबीचको दूरी घटाउने तथा किसानको उत्पादन खेर जान नदिने अपेक्षा गरेका छौँ । अहिले कोन्ज्योसोमबाट मात्रै दैनिक करिब १८ देखि २० हजार लिटर दूध काठमाडौं उपत्यकामा पुगिरहेको छ। त्यसैगरी, मौसमअनुसार अहिले करिब १० मेट्रिक टन तरकारी दैनिक काठमाडौं आउने अवस्था छ । यसले हाम्रो गाउँपालिकामा कृषि तथा पशुपालनको ठूलो सम्भावना रहेको देखाउँछ ।
अबको हाम्रो लक्ष्य उत्पादनको मात्रा मात्र बढाउने होइन, उत्पादनलाई व्यावसायिक, व्यवस्थित र बजारमुखी बनाउने हो । यसका लागि गाउँपालिकाले कृषि नीति पनि तयार गरेको छ । कृषि क्षेत्रका सम्भावना पहिचान गरेर किसानलाई उत्पादन, प्रविधि, बजार र मूल्यसँग जोड्दै स्थानीय नागरिकको आर्थिक समृद्धिको आधार तयार गर्ने दिशामा हामी अघि बढिरहेका छौँ। हामीसँग कृषि तथा पशुपालनबाहेक पनि धेरै सम्भावना छन् । ती सम्भावनाको पहिचान गरी स्थानीय स्रोत, सीप र उत्पादनलाई अधिकतम उपयोग गरेर नागरिकको आयआर्जन बढाउने र गाउँपालिकालाई उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने हाम्रो प्राथमिकता हो ।
कोन्ज्योसोम गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन कस्तो नीति अपनाएको छ ?
किसानलाई व्यावसायिक बनाउने नीति गाउँपालिकाले कृषि क्षेत्रलाई निर्वाहमुखीबाट व्यावसायिक, उत्पादनमुखी र बजारमुखी बनाउने नीति लिएको छ । त्यसका लागि किसानसँग प्रत्यक्ष संवाद गरी उनीहरूको रुचि, जमिन, हावापानी, उत्पादन क्षमता र बजारको सम्भावनाका आधारमा पकेट क्षेत्र निर्धारण गर्न आवश्यक हुन्छ ।
उत्पादनको सम्भाव्यता पहिचान गाउँपालिकाभित्र कुन क्षेत्रमा कुन कृषि उत्पादन राम्रो हुन्छ भन्ने अध्ययन गरी फलफूल, तरकारी, पशुपालन, मौरीपालन, जडीबुटी आदि क्षेत्र छुट्याउने। किसानलाई व्यवसायिक योजना बनाउन सहयोग किसानलाई केवल बीउ–मल वितरण गर्नेभन्दा पनि के उत्पादन गर्ने, कति उत्पादन गर्ने, कहाँ बेच्ने र कति आम्दानी गर्ने भन्ने आधारमा व्यवसायिक कृषि योजना बनाउन सहयोग गर्ने। सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन साना किसानलाई समूह÷सहकारीमार्फत जोडेर सामूहिक उत्पादन, संकलन, भण्डारण र बिक्रीको व्यवस्था गर्ने । बजार सुनिश्चित गरेर उत्पादनमा जोड उत्पादन सुरु गर्नुअघि नै स्थानीय बजार, नजिकका शहर, होटल, विद्यालय, अस्पताल तथा अन्य संस्थागत खरिदकर्तासँग समन्वय गरी बजार खोज्ने। “बजार छैन, त्यसैले उत्पादन हुँदैन” भन्ने अवस्था अन्त्य गर्ने । गाउँपालिकाले अहिले कृषि बनाइरहेको छ । सो कुरालाई उक्त नीतिमा समावेश गरेर कार्यान्वयन गर्नुपर्छ । “अब कृषि निर्वाहका लागि मात्र होइन, व्यवसाय र आम्दानीका लागि गरौँ। आफ्नै गाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ। गाउँपालिकाले उत्पादनदेखि बजारसम्म किसानको साथ दिनेछ।” किसानसँग दिनुपर्ने मुख्य सन्देश यही हो ।