काठमाडाैँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिए ।
आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको उनले बताए । त्यस अवसरमा उनका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
महाकवि देवकोटाको जन्म २७ कात्तिक १९६६, अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) का दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनको निधन भने २९ भदौ २०१६ मा भएको हो ।
१० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।