काठमाडौँ । २०८२ भदौ २४ गते आन्दोलनको क्रममा जेन जीले काठमाडौँको महाराजगञ्ज स्थित भाटभटेनीमा आगो लगाउने क्रममा त्यहाँ रहेको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’मा पनि आगो लगाएर सबै खरानी बनाएका थिए । एक वर्षपछि आगो लागेकै दिन सोही ठाउँमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ पुनः शुभराम्भ गरिएको छ ।
पुनः निर्माण गरिएको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को बुधबार अभिनेता एवम् हास्य व्यंग्य कलाकार जितु नेपाल र अभिनेत्री प्रियना आचार्यले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा अभिनेता जितु नेपालले आजकै दिन एक वर्ष अघि जेन्जीबाट जलाईएको आफ्नो ब्युटी स्टुडियोलाई पुन निर्माण गरी सञ्चालनमा ल्याएर लक्ष्मीले पुन निर्माणको उदाहरण दिएको बताए । आफूले लामो समयदेखि कोटेश्वरका भाटभटेनीमा रहेको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’मा हेयर सम्बन्धि सेवा लिँदै आएको र त्यति बेला त्यो सहित विभिन्न ठाउँमा यो स्टु्डियो जलेको घटनाले दुःख लागेको बताए । भाटभटेनी यो स्टुडियो जले पनि आफुले अन्यत्र गएर सेवा लिईरहेको पनि जितुले बताए ।
अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’ले एउटा फरक पहिचान बनाएको १७ वर्ष पुरानो महाराजगञ्जको ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ जलेको एक वर्षपछि खरानीबाट फेरी नयाँ संरचनाका साथ स्थापित भएकोमा खुसी व्यक्त गरिन् । यस्तै उनले आगामी ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ को ५ वर्ष भित्र देशभरका सहरमा ५१ वटा शाखा खोल्ने योजना साकार होस भन्ने शुभकामना दिईन् । यो स्टुडियो आफ्नो रोजाईएको ब्युटी स्टुडियो रहेको पनि प्रियनाले बताईन् ।
मुम्बईमा हेयर डिजानरको काम गरेका लक्ष्मी ठाकुरले २७ वर्ष अघि नेपाल आएर ठमेलमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ सुरुवात गरेको बताए । १७ वर्ष अघि यसको पहिलो फ्रेन्जाईज महाराजगञ्जको भाटभटेनीमा खोलेको स्मरण गराउँदै गत वर्ष जलाईएको यो स्टुडियोलाई एक वर्षमा तयार गरेर पुन सञ्चालनमा ल्याएको जानकारी गराए, ‘भाटभटेनी आगलागीमा हाम्रा दुई वटा स्टुडियो खरानी भए पनि हामी यति बेला खरानीबाट माथि उठ्ने प्रयासमा छौँ ।’ उनले भने ।
दर्जनौ नेपाली चलचित्रमा हेयर स्टाईलिस्ट कन्सल्टेन्ट र डिजाइनरका रुपमा आफूहरुले योगदान दिएको पनि उनले जनाए । यो २७ वर्षको यात्रामा आफूले गुणस्तरीय र सुलभ रुपमा सेवा दिएकै कारण आज ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ ग्राहकको रोजाईमा परेको उनले बताए ।