सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पीडित बनेका परिवारका लागि विशेष राहत तथा सहयोगको घोषणा गरेको छ । गाउँकार्यपालिकाको भाद्र १५ गते बसेको बैठकले भोटेकोशी विपद्मा परी बेपत्ता वा मृत्यु भएका सुनकोशी गाउँपालिका भित्रका नागरिकका परिवारलाई प्रतिव्यक्ति रु. १,७५,००० (एक लाख पचहत्तर हजार रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।
यसैगरी, उक्त दुर्घटनामा परेका परिवारका बालबालिकाहरूलाई सुनकोशी गाउँपालिकाभित्रका शिक्षण संस्थामा स्नातक तहसम्म पूर्ण रूपमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।
गत २०८३ भाद्र १० गते भोटेकोशी नदी प्रवाहमा आएको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट तथा धादिङका नदी तटीय क्षेत्रहरूमा ठूलो जनधनको क्षति भएको थियो। रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका सुनकोशीका केही नागरिकहरूसमेत हालसम्म बेपत्ता रहेको र उहाँहरूको स्थिति अज्ञात रहेकाले गाउँपालिका परिवार चिन्तित बनेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै, विपद्को यस कठिन परिस्थितिमा उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सहयोग र समन्वय गर्न गाउँपालिकाले सबैमा हार्दिक अनुरोध गरेको छ।
