काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि अनेरास्ववियुले राहत अभियानलाई निरन्तरता दिएको छ। नुवाकोटका बाढी प्रभावित क्षेत्रमा यसअघि राहत वितरण गरिसकेको अनेरास्ववियुले पुनः ठूलो परिमाणमा राहत सामग्री संकलन गरी रसुवाका प्रभावित क्षेत्रमा वितरण गर्न विद्यार्थी नेताहरूको टोलीसहित प्रस्थान गरेको हो।
यसपटक अनेरास्ववियुले ५० वटा सिरक, ३० वटा ठूलो डसना, ५० पेटी चाउचाउ, ५० किलो चिउरा, २० कार्टुन औषधि, १० कार्टुन फलफूल, ८५ बोरा सानो साइजका कपडा तथा ६७ बोरा ठूलो र मिडियम साइजका ट्र्याकसुट लगायतका राहत सामग्री संकलन गरेको जनाएको छ।

संकलित राहत सामग्री लिएर टोलीले रसुवाका बाढी प्रभावित क्षेत्र स्याफ्रुबेँसी, बेत्रावती, टिमुरे तथा उत्तरगया लगायतका स्थानमा पुगेर प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गर्ने लक्ष्य राखेको छ।
स्ववियु अमृत क्याम्पस (ASCOL) को समन्वयमा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव कमल जोशी, सचिव गोपाल नेपाल, सचिवालय सदस्य एवं स्ववियु सभापति रुद्रहरी पोखरेल लगायत विद्यार्थी नेताहरूको सहभागितामा दुई वटा हाइलक्स गाडीमा राहत सामग्री लोड गरी टोली रसुवातर्फ प्रस्थान गरेको हो।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री, औषधि तथा फलफूल उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अनेरास्ववियुले जनाएको छ। विपद्को कठिन परिस्थितिमा राज्यका सम्बन्धित निकायसँग सहकार्य गर्दै नागरिकको दुःखमा विद्यार्थी संगठनको उपस्थिति र सामाजिक उत्तरदायित्वलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अभियानको उद्देश्य रहेको विद्यार्थी नेताहरूले बताएका छन्।

राहत संकलनका क्रममा विद्यार्थी, व्यवसायी, विभिन्न संघ–संस्था तथा देश–विदेशमा रहेका सहयोगी मनहरूबाट प्राप्त सहयोगलाई एकीकृत गरी वास्तविक रूपमा प्रभावित परिवारसम्म पुर्याउने प्रयास गरिएको जनाइएको छ। राहत अभियान केवल सामग्री हस्तान्तरणमा सीमित नभई विपद्मा परेका नागरिकलाई आफूहरू उनीहरूको साथमा रहेको अनुभूति गराउने मानवीय प्रयास भएको विद्यार्थी नेताहरूको भनाइ छ।
यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मन, दाता, विद्यार्थी, व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूप्रति अनेरास्ववियु र स्ववियु अमृत क्याम्पसले हार्दिक आभार व्यक्त गरेको छ।

अनेरास्ववियुले आगामी दिनमा समेत विपद् प्रभावित क्षेत्रको अवस्था र आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। विद्यार्थी शक्ति केवल शैक्षिक र राजनीतिक गतिविधिमा मात्र सीमित नभई समाजमा आइपर्ने संकटका बेला नागरिकको दुःखमा साथ दिने सामाजिक शक्तिका रूपमा पनि अघि बढ्ने प्रतिबद्धता संगठनले व्यक्त गरेको छ।