काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको हो। बाढी प्रभावितको तत्काल खोज तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
अपि पावरकी अध्यक्ष सिर्जना खड्काले खोज तथा उद्धारपछि प्रभावितको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको बताएकी छन्।
कम्पनीले बाढीबाट जलविद्युत् आयोजना तथा अन्य संरचनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले बेपत्ता नागरिक तथा जलविद्युत् आयोजनाका कर्मचारीको तत्काल खोजी र उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
थप जनधनको क्षति रोक्न उच्च सतर्कता अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार तथा राहतमा सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।
अपि पावरले हाल ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार सहायक कम्पनीमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा समेत काम भइरहेको छ।