रसुवाकाे भाेटेकाेशीमा आएको आकस्मिक बाढीका कारण व्यापक जनधनको क्षति हुनुका साथै प्रमुख जलविद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीका कारण जलविद्युत् केन्द्रहरू र सबस्टेशन क्षतिग्रस्त हुँदा क्षेत्रभर विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्राधिकरणद्वारा जारी अत्यन्त जरुरी सूचना अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ‘ए’, त्रिशुली ३ ‘बी’ हब २२० के.भी. सबस्टेशन, त्रिशुली तथा देवीघाट जलविद्युत् केन्द्रका साथै विभिन्न वितरण संरचनाहरूमा क्षति पुगेको छ ।
बाढीले घर, सडक, पुल र विद्युत् पूर्वाधारमा ठूलो नोक्सानी पुर्याएको प्रारम्भिक अनुमान छ । प्रकोपका कारण बेपत्ता तथा प्रभावित भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि तत्काल प्रभावकारी रूपमा परिचालित हुन प्राधिकरणले सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ ।
नदी तथा खोला आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । साथै, अनधिकृत र अपुष्ट अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले अवरुद्ध विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाउँदै सर्वसाधारणलाई धैर्य धारण गर्न आग्रह गरेको छ ।