काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्दैछ । यो शाे यही भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गरिने भएको हो ।
भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २ सयभन्दा बढी स्टलहरू रहनेछन् । मेलामा २३ वटा चार पाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुई पाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ ।
नाडाका अनुसार शोमा सवारी साधनका पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू समेत सहभागी हुनेछन् ।
पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले लोभलाग्दो फड्को मारेको छ । हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन् । विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गर्दा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यो स्वर्ण जयन्ती संस्करण एउटा संस्थाको उत्सव मात्र नभएर सिङ्गो उद्योगको योगदानको लेखाजोखा रहेको बताए । ‘पचास वर्ष भनेको कुनै उद्योगलाई ’कति बिक्री गर्यो भन्ने आधारमा होइन । कति धानिरहेको छ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो । भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो’, अध्यक्ष उप्रेतीले भने ।