काठमाडौँ । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरूले अब नामसारीका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत नै भर्न सक्ने भएका छन् । कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा हस्तान्तरण गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमा भरेर अन्तिम प्रमाणीकरण र दस्तुर बुझाउन मात्र नजिकैको दूरसञ्चार कार्यालय पुगे पुग्नेछ ।
ग्राहकहरूले टेलिकमको कस्टमर लगइन पोर्टल (https://myc.ntc.net.np/) मार्फत आवश्यक विवरण भर्न सक्नेछन्। उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ। त्यसपछि हालका ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरू बुझाउनुपर्नेछ। यसका साथै पछिल्लो एक महिनाको अवधिमा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत पोर्टलमा दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।
सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि भने नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। नामसारीका लागि तोकिएको दस्तुर तिरेर सक्कल नागरिकतासहित आफू स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गराउन सकिनेछ।
अनलाइनबाटै पहिले नै आवश्यक विवरण भरेर पोस्टपेड सिम नामसारी गर्न सकिने भएकाले यो प्रक्रिया थप सहज हुने अपेक्षा गरिएको छ। स्वयं कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीले प्रतिनिधिमार्फत समेत अन्तिम प्रमाणीकरण गराउन सक्ने सुविधा छ।
हाललाई यो अनलाइन नामसारीको सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध गराइएको छ। कर्पोरेट ग्राहकहरूले भने नामसारी प्रक्रियाका लागि अनिवार्य रूपमा दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् ।