काठमाडौँ । विशेष अदालतले पोखरा क्षेत्रीय विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेसँगै ठुलो आर्थिक अनियमितताका मुख्य आरोपीमध्येका कार्की मुद्दाको किनारा नलागेसम्म बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।
कार्कीमाथि अर्थमन्त्री छँदा पछिल्लो समय ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ मार्फत ठेकेदारलाई गैरकानुनी रूपमा कर छुटको सुविधा दिइएको र राज्यकोषबाट करसमेत जोडेर रकम भुक्तानी गर्दा पनि त्यो कर राजस्वमा दाखिला नगरी ठेकेदारलाई दोहोरो फाइदा पुर्याएको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २४ मा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको ठहर गर्दै कार्कीसहितलाई विपक्षी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस प्रकरणमा कार्कीसहित तत्कालीन सचिवहरू शंकरप्रसाद अधिकारी र महेश्वर न्यौपाने, सहसचिवहरू केवलप्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरेका साथै आयोजनाका तत्कालीन महानिर्देशक सञ्जीव गौतमसमेत मुछिएका छन् ।