काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन फेसबुकमार्फत् प्रसारण गरिएको विषयमा प्रश्न उठाएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले देश फेसबुकको भ्युजबाट नभई राज्यका आधिकारिक अंगबाट चल्ने बताइन्।
‘देश फेसबुकको भ्युजले चल्दैन। राष्ट्रकै नाममा गरिने सम्बोधन फेसबुकतिर होइन, आधिकारिक सञ्चारमाध्यमबाट आउनुपर्छ,’ उनले भनिन्।
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा फेसबुक पेजमार्फत् लाइभ गरिएको भन्दै उनले प्रश्न गरिन्, ‘राष्ट्रलाई सम्बोधन गरेको हो कि आफ्नो फेसबुक पेजको मोनिटाइजेसनलाई बलियो बनाएको हो?’
मोनिटाइजेसन भएको फेसबुक पेजबाट आम्दानी हुने भएकाले सम्बोधन त्यहाँबाट प्रत्यक्ष प्रसारण गरिएको हुन सक्ने भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति आलोचना गरिन्।
घतानीले प्रधानमन्त्री शाहले गत जेठ १७ गते नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा पनि प्रश्न उठाइन्। उनले उक्त भनाइ कुन तथ्य र कूटनीतिक प्रमाणका आधारमा आएको हो भन्ने स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरिन्।
‘हाम्रो सीमा र भूगोल कुनै मजाकको विषय होइन। प्रधानमन्त्रीले कुन तथ्य र कुन कूटनीतिक प्रमाणका आधारमा नेपालले भारतको सीमा मिच्यो भन्नुभयो ?’ उनले प्रश्न गरिन्।