काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा मृत्यु भएको छ । अर्जेन्टिना तथा स्पेनका विभिन्न सञ्चारमाध्यमका अनुसार जोर्गेको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको रोसारियोस्थित आफ्नै गृहनगरमा मृत्यु भएको हो । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका जोर्गेको स्वास्थ्य अवस्थाबारे केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विभिन्न समाचार सार्वजनिक हुँदै आएका थिए । सन् २०२६ को विश्वकपका क्रममा समेत उनको स्वास्थ्य अवस्थालाई लिएर चर्चा भएको थियो । त्यतिबेला मेसीले १ खेलमा गोल गरेपछि भावुक हुँदै आँसु पुछेको दृश्य सार्वजनिक भएपछि उनको पारिवारिक अवस्थाबारे चासो बढेको थियो ।
जोर्गे मेसीका पिता मात्र नभई उनको फुटबल करियर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा परिचित थिए । रोसारियोमा बाल्यकाल बिताएका मेसीले ४ वर्षको उमेरमा स्थानीय क्लब ग्रान्डोलीबाट फुटबल खेल्न सुरु गरेका थिए । त्यसक्रममा उनका पिता जोर्गे उनको प्रशिक्षण र फुटबल यात्रासँग प्रत्यक्ष रूपमा जोडिएका थिए । मेसीलाई करिब १० वर्षको उमेरमा वृद्धि हर्मोनसम्बन्धी समस्या देखिएपछि उनको उपचार खर्च परिवारका लागि चुनौती बनेको थियो । छोराको उपचार तथा फुटबल करियरलाई निरन्तरता दिन जोर्गेले महत्वपूर्ण भूमिका खेले । अन्ततः १३ वर्षको उमेरमा मेसी स्पेन पुगे र बार्सिलोनाको चर्चित एकेडेमी ला मासियामा आबद्ध भए ।
त्यसपछि मेस्सी विश्व फुटबलका सर्वाधिक सफल खेलाडीमध्ये एक बने । बार्सिलोना, पेरिस सेन्ट जर्मेन र इन्टर मियामीसँगको व्यावसायिक यात्राका साथै अर्जेन्टिना राष्ट्रिय टोलीमा उनको सफलताका पछाडि जोर्गेको निरन्तर साथ रह्यो । मेसीका अनुबन्ध, व्यावसायिक सम्झौता, इमेज राइट्स तथा अन्य व्यावसायिक गतिविधिमा समेत जोर्गेले प्रतिनिधिका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वकपकै क्रममा जोर्गेको मृत्यु भएको गलत खबरसमेत सार्वजनिक भएको थियो । अर्जेन्टिनाकी टेलिभिजन प्रस्तोता फ्लोरेन्सिया पेञाले प्रत्यक्ष प्रसारणमा उनको मृत्यु भएको गलत सूचना दिएपछि मेसी परिवारले उनी जीवित रहेको स्पष्ट पारेको थियो । पछि उक्त समाचार गलत सावित भएको थियो ।
तर अहिले भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जोर्गेको मृत्यु भएको पुष्टि गरेका छन् । उनको मृत्युसँगै मेसीले आफ्नो फुटबल यात्राका सबैभन्दा महत्वपूर्ण अभिभावक, मार्गदर्शक र व्यावसायिक सहयोगीमध्ये एकलाई गुमाएका छन् । बाल्यकालदेखि विश्व फुटबलको सर्वोच्च उचाइसम्म मेस्सीलाई पुर्याउने यात्रामा जर्जको योगदानलाई विशेष रूपमा स्मरण गरिनेछ ।