काठमाडाैँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ५ कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।
निगमले आजदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ः०० देखि अपराह्न ५ः०० बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् ।
गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् ।
निगमले माग अनुसारको ग्यास आयत भइरहेको दाबी गरेपनि उपभोक्ताले सहजै ग्यास पाउन नसकेको गुनासा गरेका छन् । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएको छ । अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई फर्काइरहेका छन् ।
काठमाडौँको बालाजु क्षेत्रमा बसोबास नवराज पोखरेलले केहीदिनदेखि सहज रूपमा ग्यास नपाएको गुनासो गर्नुभयो । “ग्यास पसलमा जाँदा उद्योगबाट ग्यास नआएको भनेकाले नाम टिपाएर आएको छु । एक–दुई दिनमा ग्यास आएपछि पसलेले पठाउँछु भनेका छन्”, उहाँले भन्नुभयो ।
एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेकातर्फ उद्योगीको ध्यानाकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ ।
निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी ग्यासको बिक्री व्यवस्थित बनाउन बिक्रेतालाई अनुरोध गरेको छ । दैनिक रूपमा मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।