काठमाडौं । पार्टीको संस्थापन पक्षलाई चुनौती दिँदै नेपाली कांग्रेसभित्र आन्तरिक भावी नेतृत्वको होड र सांगठनिक सन्तुलन मिलाउने कसरत तीव्र बनेको छ । १४औँ महाधिवेशनपछि राजनीतिक रूपमा तितरबितर जस्तै बनेको इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आफूलाई पुनर्गठित गर्दै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत डा. कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति सार्वजनिक गर्दै इतर पक्षले आफ्नो शक्ति प्रदर्शनको आधार तयार पारेको छ ।
केन्द्रीय पदाधिकारीदेखि जिल्ला, उपत्यकाका स्थानीय तह र भ्रातृ संस्थाका प्रमुखहरूसम्मलाई समेटेर बनाइएको यो विशाल समितिले पार्टीको वर्तमान नेतृत्वलाई संस्थापन इतरको सांगठनिक उपस्थिति कमजोर नरहेको सन्देश दिन खोजेको छ ।
प्रशासनिक र नीतिगत तयारीका लागि गठन गरिएका विधान संशोधन, राजनीतिक तथा सांगठनिक प्रस्ताव जस्ता १६ वटा विषयगत समितिहरूले पार्टीभित्र संस्थापन पक्षका निर्णयहरूलाई काउन्टर गर्ने रणनीति बनाएका छन् ।
मुलुकको राजनीतिक अस्थिरता र पार्टीको आन्तरिक चुनौती सम्बोधन गर्ने औपचारिक बहाना बनाइए पनि, डा. शशांक कोइरालाको नेतृत्वमा घोषणा गरिएको यो भेला वास्तवमा १४औँ महाधिवेशनपछि गुमेको साख फर्काउने र आगामी महाधिवेशनका लागि इतर समूहभित्र नयाँ समीकरण बनाउने रणनीतिक राजनीतिक दाउपेचका रूपमा हेरिएको छ ।
इतर समूहको आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापति समावेश गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ । राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समिति गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति छन् ।
व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य समितिलगायत निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा नगर कार्यसमितिका सभापति रहने उनले बताए । राष्ट्रिय भेला सम्पन्न गर्न आवश्यक अन्य समितिहरू पनि गठन गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘समसामयिक राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार(प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति र मञ्च व्यवस्थापन समिति रहेका छन्, स्वयंसेवक परिचालन समिति, सांस्कृतिक समिति, सहभागी व्यवस्थापन समिति, स्वास्थ्य समिति, शान्ति सुरक्षा तथा प्रशासन समन्वय समिति र सचिवालय व्यवस्थापन समिति पनि छन् ।’
मूल आयोजक समितिसहित १६ वटा समिति गठन भएको र यी समितिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकबाट पूर्णता दिइने विश्वकर्माले जानकारी दिए ।