काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेसकेन्द्रित दल र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री शाहले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे सुझाव मागेका थिए । छलफलमा उपस्थित नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको र उक्त समस्या समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए ।
छलफलपछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले भने, ‘प्रधानमन्त्रीज्युले पहिलोपटक मधेस केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो, छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ, हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।’ अध्यक्ष राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । उनले भने, ‘अहिले देखिएको समस्या नयाँ होइन, समस्या समाधानका लागि ‘र्यापिड एक्सन टिम’ गठन गर्नका लागि सुझाव दिएका छौँ, त्यसबाहेक नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा नियमनका लागि पनि आग्रह गरेका छौँ ।’
मुस्लिम आयोगका संस्थापक अध्यक्ष समीर मियाँ अन्सारीले व्यक्तिगत झगडा साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक भएको बताउँदै भने, ‘यस विषयमा प्रधानमन्त्रीज्युसँग घनिभूत छलफल भयो, घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।’ त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताउँदै मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे । छलफलमा डा.सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत नेता सहभागी थिए ।
त्यस्तै, मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारूढ दल रास्वपाका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताउँदै शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको बताए । छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गरेका थिए । प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा उभिनु नै सांदहरूको वास्तविक दायित्व भएको बताएका थिए ।
सांसदहरूले पनि तत्कालै आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउँदै बिहीबार प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको बताए । स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको शृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले दिएका थिए भने तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यक रहेको बताए ।