काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ । बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाइन् ।
यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबार साउन ४ गतेभन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ । गत हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ ।
दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाको पनि विशेष सेवा एवं सहभागिता रहेको छ ।