सिन्धुपाल्चोकको २ निजि अस्पताल र एक पोलिक्लिनिक सिल गरिएको छ । सुनकोशी गाउँपालिका स्थित सिन्धु सदाबहार अस्पताल , बार्हबिसे नगरपालिका स्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र बलेफी गाँउपालिका स्थित पराजुली हेल्थ केयर प्रा.लि सिल गरिएको हो ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६६ र ६७ को खण्ड (ख) बमोजिम कानुनी कारबाहीका लागि खटिएको संयुक्त टोलीले उक्त अस्पताल तथा हेल्थ केयर प्रा.लि. शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २१, २२ र २७ तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, २०८१) को दफा ६, ११ र १५ बमोजिम नियमानुसार अनुमति लिई सञ्चालन भएको नपाइएको हुनाले ति निजि स्वास्थ्य संस्थालाई सिल गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाई तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले जिल्लाका निजी स्वास्थ्य संस्थामाथि गरेको अनुगमन र दुई पटकसम्म पत्राचार गरी दर्ता नवीकरण तथा कानुनी प्रक्रियामा आउन निर्देशन दिँदा पनि अटेर गरेपछि सिल गरिएको हो।
अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सन्चालन गरेको , दर्ता तथा नविकरण नगरि सन्चालन गरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्स–रे सेवा सञ्चालन गरेको, सम्बन्धित निकायको निर्देशनसमेत पालना नगरेको पाइएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार अनुगमनलाई अझ तीव्र बनाएको जनाएको छ। कानुन विपरीत सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही गरिने प्रशासनको भनाइ छ।
यसैबीच, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पनि निजी स्वास्थ्य संस्थाको नियमित अनुगमनलाई थप तीव्र बनाएको जनाएको छ। कार्यालयले सबै स्वास्थ्य संस्थालाई प्रचलित कानुन तथा मापदण्डअनुसार दर्ता, नवीकरण र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशको १३ वटै जिल्लामा अनुगमन तिब्र बनाएको जनाएको छ । जनस्वास्थ्य माथि खेलवाड गर्ने तथा प्रक्रियामा नआउने जुनसुकै स्वास्थ्य संस्थालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।