रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी छ्यापेर दुर्व्यवहार गरिएको छ । बिहीबार गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि कालोमसी छ्यापेर फरार भएको बताइएको छ।
सांसद पौडेलका अनुसार राति करिब ८ बजेको बीचमा पछाडिबाट आएका व्यक्तिहरूले अँगालो हालेझैँ गरी उनको ढाडमा कालोमसी छ्यापेका थिए । आक्रमणकारीहरूले हातमा रातो झण्डा र पर्चा बोकेका थिए र आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएको उनले दाबी गरेका छन् ।
घटनापछि प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान भइरहेको छ। हालसम्म संलग्न व्यक्तिहरू पक्राउ परेका छैनन् ।