काठमाडौँ । वाणिज्य बैंकहरूले साउन २०८३ का लागि सार्वजनिक गरेको अधिकतम ब्याजदरमा अधिकांश बैंकले अघिल्लो महिना (असार)कै दरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदरमा कटौती गरेका छन् ।
सार्वजनिक तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये अधिकांशले ब्याजदर परिवर्तन नगरेका छन् । यद्यपि केही बैंकले ०.०६ प्रतिशतदेखि १ प्रतिशत बिन्दुसम्म ब्याजदर घटाएका छन् ।
एनएमबी बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा झार्दै ०.२५ प्रतिशत बिन्दुले कटौती गरेको छ । संस्थागत निक्षेपको ब्याजदर पनि ४ प्रतिशतबाट ३.५० प्रतिशतमा झरेको छ ।
कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ भने संस्थागत निक्षेपको दर यथावत ३.०१ प्रतिशत कायम राखेको छ । ग्लोबल आईएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.५० प्रतिशतबाट ४ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ। कृषि विकास बैंकले संस्थागत निक्षेपको ब्याजदर २.७८ प्रतिशतबाट २.७५ प्रतिशतमा सामान्य कटौती गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ३ प्रतिशतमा झार्दै सबैभन्दा ठूलो कटौती गरेको देखिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगत निक्षेपको ब्याजदर ४.९० प्रतिशतबाट ३.७५ प्रतिशतमा तथा संस्थागत निक्षेपको ब्याजदर ३.५० प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा घटाएको छ ।
यता एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले भने असार महिनाकै अधिकतम ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।