काठमाडौँ । नेपालले सन् २०२८ मा आयोजना हुने टी–२० विश्वकपका लागि एसिया क्षेत्रीय छनोट खेल्न नपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने भएको हो ।
आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल २०२६ को विश्वकपमा सहभागी भए पनि समूह चरणबाटै बाहिरिएकाले यही समूहमा परेको हो ।
ग्लोबल क्वालिफायरमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन् ।
ग्लोबल छनोटबाट प्रत्येक क्षेत्रका उत्कृष्ट एक–एक टोली र समग्र प्रदर्शनका आधारमा थप तीन टोली गरी सात टोलीले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन् ।
टी–२० विश्वकपको ढाँचा परिवर्तन
आईसीसीले सन् २०२८ देखि पुरुष टी–२० विश्वकपको संरचनामा समेत परिवर्तन गर्ने निर्णय गरेको छ । नयाँ ढाँचाअनुसार दोस्रो चरणमा पुग्ने टोली संख्या आठबाट बढाएर १० पुर्याइनेछ ।
हालको ‘सुपर एट’ प्रणालीलाई हटाएर ‘सुपर १०’ चरण लागू गरिनेछ। प्रतियोगिताको प्रारम्भिक चरणमा २० टोलीलाई चार–चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
सुपर १० चरणमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको विजेता टोली सिधै सेमिफाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले क्रसओभर इलिमिनेटर खेल्नेछन् । इलिमिनेटरका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नयाँ ढाँचामा समूह चरणका खेल संख्या ४० बाट घटेर ३० हुनेछ भने दोस्रो चरणका खेल १२ बाट बढेर २० पुग्नेछन्। साथै थप दुई इलिमिनेटर खेल समावेश गरिनेछ । आईसीसीले नयाँ संरचनाले प्रतियोगिताको अन्तिम चरणसम्म प्रत्येक खेललाई प्रतिस्पर्धात्मक बनाउने र टोलीहरूलाई निरन्तर प्रदर्शन गर्न दबाब सिर्जना गर्ने जनाएको छ ।
सहयोगी राष्ट्रका लागि नयाँ प्रतियोगिता प्रस्ताव
आईसीसीले सहयोगी सदस्य राष्ट्रका लागि १६ टोली सहभागी हुने नयाँ विश्वस्तरीय प्रतियोगिता आयोजना गर्ने अवधारणालाई पनि समर्थन गरेको छ । टी–२० विश्वकपअघि आयोजना हुने प्रस्तावित प्रतियोगिताले सहयोगी राष्ट्रलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर दिने अपेक्षा गरिएको छ । यद्यपि यसको अन्तिम स्वीकृति भने आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षा पछि हुने बताइएको छ ।
यसैगरी आईसीसीले पुरुष एकदिवसीय विश्वकपको ढाँचामा पनि परिवर्तन गर्ने निर्णय गरेको छ। १४ टोली सहभागी हुने प्रतियोगितामा समूह चरणअघि ‘सुपर सिरिज’ नामक नयाँ चरण समावेश गर्ने प्रस्ताव गरिएको छ ।