काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ। मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई साउन ८ गतेभित्र दरखास्त पेश गर्न आग्रह गरेको हो । अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, आवेदन फाराम तथा संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।
विज्ञापन बोर्ड नेपाल सरकारबाट सञ्चार माध्यमलाई उपलब्ध गराइने सार्वजनिक हितसम्बन्धी विज्ञापनलाई तोकिएको मापदण्डका आधारमा समानुपातिक रूपमा वितरण गर्ने निकाय हो । यसका साथै वस्तु तथा सेवाको प्रचार–प्रसार, विज्ञापन उत्पादन, प्रसारण, वितरण तथा विज्ञापन व्यवसायको नियमन गर्ने जिम्मेवारी पनि बोर्डको रहेको छ ।
बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति निर्माणका लागि मन्त्रालयलाई सिफारिस गर्ने, सञ्चार माध्यममा प्रसारण हुने विज्ञापनको सामग्री परीक्षणका लागि मापदण्ड तयार गर्ने, विज्ञापन उत्पादन, प्रसारण र वितरणसम्बन्धी आचारसंहिता बनाउने तथा राष्ट्रिय र सार्वजनिक हितका विज्ञापनको निर्माण, प्रकाशन र प्रसारणलाई प्रोत्साहन गर्ने कार्यसमेत गर्दछ ।
त्यस्तै, भ्रामक, उत्तेजक, अमर्यादित वा विभेदपूर्ण विज्ञापनको अनुगमन तथा नियमन गर्ने, विदेशी टेलिभिजन च्यानलबाट प्रसारण हुने मापदण्डविपरीतका विज्ञापनमाथि निगरानी गरी कारबाहीका लागि मन्त्रालयमा सिफारिस गर्ने तथा नेपाल सरकार, विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम र सम्बन्धित निकायबीच समन्वय गर्ने जिम्मेवारी पनि बोर्डको कार्यक्षेत्रभित्र पर्दछ ।
यसका अतिरिक्त विज्ञापन व्यवसायीको क्षमता अभिवृद्धि, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन, उत्कृष्ट विज्ञापनकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने र विज्ञापन क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउन आवश्यक निर्देशन दिने अधिकारसमेत विज्ञापन बोर्डलाई रहेको छ ।