काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले डिजिटल प्रविधिको प्रयोगमार्फत सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । प्राथमिकता सार्वजनिक गर्दै बोर्डले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बजार पूर्वाधार विकास गर्ने र उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन बढाउने जनाएको हो ।
बोर्डले पुँजी बजारको संस्थागत विकास, डिजिटल प्रविधिको विस्तार, लगानीकर्ताको पहुँच वृद्धि तथा नियामकीय संरचना सुधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷०८४ को कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।
बजारको गहिराइ विस्तार, वित्तीय विविधता प्रवद्र्धन, संस्थागत लगानीकर्ताको भूमिका बढाउने तथा लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राख्दै सुधारका कार्यक्रम अघि बढाउने बोर्डले जनाएको छ ।
बोर्डले भनेको छ, ‘धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानलाई प्रभावकारी बनाउने, लगानीकर्तालाई आवश्यक सूचना, शिक्षा तथा परामर्श उपलब्ध गराउने र नियामक निकायबीचको अन्तरसम्बन्ध तथा समन्वयलाई थप बलियो बनाइनेछ ।’
सार्वजनिक कम्पनीहरूको वित्तीय विवरणलाई थप पारदर्शी र विश्वसनीय बनाउन नीतिगत सुधार गर्ने तथा कम्पनीहरूको वित्तीय अवस्थाको वस्तुपरक अध्ययन र अनुगमन प्रणाली विकास गर्ने बोर्ड जनाएको छ ।
त्यस्तै, मार्जिन कारोबारसम्बन्धी निर्देशिकाको पुनरावलोकन, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सरोकारवाला निकायसँगको सहकार्य विस्तार गर्ने योजना पनि बोर्डको प्राथमिकतामा परेको छ । पुँजी बजारमा कारोबार लागत घटाउने, प्राथमिक तथा दोस्रो बजारलाई थप प्रभावकारी बनाउने, नयाँ वित्तीय उपकरणको विकास गर्ने तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लगायत संस्थागत लगानीको भूमिका विस्तार गर्ने लक्ष्य बोर्डले लिएको छ ।